नियम ६घ
अध्यापन अनुमति पत्र लिनको लागि उम्मेदवार हुन नसक्ने
(१) देहायको व्यक्ति अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछैनः–
(क) गैर नेपाली नागरिक,
(ख) १८ वर्ष उमेर नपुगेको,
(ग) मगज बिगे्रको,
(घ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको,
(ङ) भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको,
(च) नियम ९ बमोजिमको शैक्षिक योग्यता नभएको,
(छ) नियम ९ बमोजिमको तालिम नलिएको ।
(२) उपनियम (१) को खण्ड (क) र (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्ति यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि लिईने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछः–
(क) सम्बत् २०५७ साल कार्तिक चौबीस गते भन्दा अघि शिक्षक पदमा नियुक्ति पाई यो खण्ड प्रारम्भ हुनु अघि कम्तीमा चौध वर्ष अध्यापन गरेका गैर नेपाली नागरिक,
(ख) सम्बत् २०५२ सालमा प्रकाशित विज्ञापन बमोजिम स्थायी रुपमा शिक्षकको पद पूर्ति हुँदा अस्थायी शिक्षकबाट हट्न गएको व्यक्ति,
(ग) यो नियम प्रारम्भ हुँदाका बखत अस्थायी शिक्षकको हैसियतले कम्तिमा १ वर्षदेखि काम गरिरहेको व्यक्ति ।
(२क) उपनियम (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको व्यक्ति माध्यमिक विद्यालयको शिक्षकको अध्यापन अनुमतिपत्रको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ ।
तर त्यस्तो व्यक्तिले सेवा शुरु गरेको दुई वर्षभित्र तालीम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।
(३) उपनियम (१) को खण्ड (छ) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्वत् २०६३ साल मंसीर ५ गतेभन्दा अघि शिक्षक पदमा नियुक्ति भई यो उपनियम प्रारम्भ हुँदाका बखतसम्म निरन्तर रूपमा काम गरिरहेको शिक्षक यो उपनियम प्रारम्भ भएपछि अध्यापन अनुमतिपत्रको लागि
लिइने पहिलो परीक्षामा उम्मेदवार हुन सक्नेछ ।
तर त्यस्तो शिक्षकले सम्वत् २०७५ साल कार्तिक २२ गतेभित्र तालिम नलिएमा निजले प्राप्त गरेको अध्यापन अनुमतिपत्र स्वतः रद्द हुनेछ ।